हामी (चलचित्र पत्रकार संघ नेपाल)ले २०७६ जेठ ७ गते २०औँ वार्षित्कोत्सव मनाएका छौँ । हामी हरेक वर्ष जेठ ७ गतेलाई चलचित्र पत्रकारिता दिवसका रूपमा मनाउँदै आएका छौँ । सोही अवसरमा सोहि दिन हामीले राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्र पत्रकारिता सम्मान र पुरस्कार प्रदान गरेका छौँ ।
सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा हामीले चलचित्र पत्रकारद्वय नरेश भट्टराई र श्याम स्मृतलाई चलचित्र पत्रकारिता सम्मान–०७६ प्रदान गर्यौँ भने रातोपाटी डटकममा कार्यरत कुवेर गिरी र एबिसी टिभीकी शारदा थापालाई जनही २१ हजार नगद राशिसहितको चलचित्र पत्रकारिता पुरस्कार प्रदान गर्यौँ । त्यसैगरी, चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार मेरोफिल्म डटकमका फोटोपत्रकार विनोद पोखरेललाई प्रदान गर्यौँ ।
कार्यक्रममा नेपालमा चलचित्र पत्रकारितालाई व्यावसायिक रूपमा अघि बढाएका कामना पब्लिकेसनका संस्थापक वरिष्ठ पत्रकार स्व. पुष्करलाल श्रेष्ठको योगदानको स्मरण गरियो । कार्यक्रममा स्व. श्रेष्ठले चलचित्र तथा समग्र पत्रकारितामा पुर्याएको योगदानबारे भिडियो सामग्री प्रदर्शन गरिएको थियो ।
चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, अभिनेता दीपकराज गिरी, निर्देशक समाजकी अध्यक्ष सुचित्रा श्रेष्ठ, निर्माता संघका उपाध्यक्ष माधव वाग्ले, अभिनेत्री करिश्मा मानन्धरलगायतका नेपाली चलचित्र क्षेत्रका बिशिष्ट व्यक्तित्वहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संघका अध्यक्ष सन्दीप सापकोटाले सम्मानित र पुरस्कृत पत्रकारहरूले इमानदारिताका साथ सशक्त ढंगले आफ्नो कर्म अघि बढाउने विश्वास व्यक्त गर्नुभयो ।