तीन दिने बृहत चलचित्र पत्रकारिता कार्यशाला सम्पन्न

home-plan

चलचित्र पत्रकार संघ नेपालको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा गण्डकी प्रदेशको राजधानी पोखरामा तीन दिने ‘बृहत चलचित्र पत्रकारिता कार्यशाला’ सम्पन्न भएको छ । भदौ १८ गते देखि सुरु भएको कार्यशाला भदौ २० गते सम्पन भएको हो । कार्यशाला पर्यटन विकास बोर्ड पोखराको सभाहलमा भएको हो ।

कार्यशालामा पत्रकार आचारसंहिता, डिजिटल र मल्टिमिडिया पत्रकारिता, फिल्म समिक्षा, चलचित्र पत्रकारिता – हिजो र आज, पर्यटन र चलचित्रको अन्तरसम्बन्ध, आत्मसमिक्षा, चलचित्र पत्रकार र चलचित्र विकास बोर्ड बीचको अन्तरसम्बन्ध विषयक अन्तरक्रिया र प्रशिक्षण भए । यस कार्यशालामा काठमाडौं र अन्य शहरबाट १२० जना चलचित्र पत्रकार उपस्थित थिए ।

चलचित्र पत्रकार संघका अध्यक्ष सन्दीप सापकोटाले यस कार्यशालाले चलचित्र पत्रकारको क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने आशा व्यक्त गर्नुभयो । साथै उनले कार्यशालामा सिकेका कुराहरु व्यवहारमा उर्तानको लागि आग्रह गर्नुभयो ।

गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालको प्रमुख आतिथ्यमा भदौ १८ बाट सुरु भएको कार्यशाला चलचित्र विकास बोर्ड अध्यक्ष केशव भट्टराईको प्रमुख आतिथ्यमा भदौ २० मा समापन गरिएको हो ।

कार्यशालाका लागि श्रोत व्यक्तिको रुपमा शिक्षक मासिकका सम्पादक तथा प्रकाशक, प्रेस काउन्सिलका पुर्वाध्यक्ष तथा पूर्वराष्ट्रपति रामबरण यादवका प्रेस सल्लाकार राजेन्द्र दाहाल, अन्तर्राट्रिय सञ्चारमाध्यममा कार्यरत रजनीश भण्डारी, चलचित्र पत्रकार तथा नेपाल लाइभका सम्पादक नारायण अमृत, फिल्म समीक्षक अनुप सुवेदी र नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रबन्धक सूर्य थपलिया रहनुभएको थियो ।

पत्रकार डब्बु क्षेत्रीले सहजकर्ताको भूमिका खेल्दै कार्यशालाको विकास बोर्डको आगामी योजना, बोर्ड र पत्रकारबीचको सम्बन्ध र बोर्डले चलचित्र पत्रकारलाई हेर्ने दृष्टिकोणको विषयमा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले आफ्नो भनाई राख्नुभयो । त्यसैगरी कार्यशालाको अन्तिम सत्र ‘आत्मसमीक्षा’ मा पत्रकार शुशील पौडेल र चलचित्र पत्रकार संघका अध्यक्ष सन्दीप सापकोटाले सहजकर्ताको भूमिका निर्वाह गर्नुभयो । संघका अध्यक्ष सापकोटाले कार्यशालामा भएका कमजोरीको बारेमा जानकारी लिदै आगामी दिनमा कमजोरीलाई सच्याएर अगाडी बढ्ने विश्वास व्यक्त गर्नुभयो ।