चलचित्र पत्रकार संघ नेपालको २१ औं स्थापना दिवसको अवसरमा अध्यक्षज्युको शुभकामना मन्तव्य

home-plan

संस्थापक अध्यक्षज्यू, निवर्तमान अध्यक्षज्यू, पूर्व अध्यक्षज्यूहरु, कार्यसमितिका पदाधिकारी, शाखा अध्यक्षज्यूहरु, संघका सम्पूर्ण सदस्यज्यूहरु, अतिथीगण सबैमा हार्दिक अभिवादन तथा नमस्कार ।

मनोरञ्जन पत्रकारिता गर्दै आईरहेका पत्रकारहरुलाई संगठित गरि आज भन्दा २१ बर्ष अगाडी स्थापना भएको चलचित्र पत्रकार संघ नेपाल २२ औं बर्षमा प्रवेश गर्दैछ । वि.सं. २०५६ साल जेष्ठ ७ गते गठित भएको यस संघले सोही दिनलाई आफ्नो बार्षिक उत्सबको दिन मानेर राष्ट्रिय चलचित्र पत्रकारिता दिवसको रुपमा मनाउँदै आएको यहाँहरुमा सर्वविदितै छ । हरेक बर्ष विशेष कार्यक्रमको आयोजना गरि मनाउँदै आएको राष्ट्रिय चलचित्र पत्रकारिता दिवस तथा बार्षिकोत्सब कार्यक्रम यस पटक हामी डिजिटल प्लेटफर्मबाट मनाउँदै छौं । सर्ब प्रथम त हामी २२ बर्षमा प्रवेश गरेको यस गरिमामय उपलक्ष्यमा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस तथा २१ औं बार्षिक उत्सबको अवसरमा सम्पूर्ण चलचित्र पत्रकार र संघका सदस्यज्यूहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

मेरो नेतृत्वको कार्यसमिति निर्वाचित भईसकेपछि त्यसको केही दिनमै कोरोना भाइरस जोखिमका कारण देश लकडाउनमा बस्नु परेको अवस्था छ । त्यसयता औपचारिक रुपमा संघको विभिन्न कार्य तर्जुमा हामीले गर्न सकेका छैनौं । तथापि लकडाउनकै बीचमा डिजिटल बैठकहरु बस्ने र पत्रकार साथीहरुका लागि आवश्यक सहकार्य र कार्य तर्जुमा हामीले गर्दै आईरहेका छौं । संघले निर्दिष्ट गरेको पथलाई सदा अंगाल्दै उद्देश्य हासिलका लागि हामी कटिवद्द भएर लागिरहने प्रतिवद्धता व्यक्त गर्दछौं । कोरोना भाइरसको जोखिमले समग्र चलचित्र क्षेत्र र चलचित्र पत्रकारितालाई चूनौती गरिरहेको अहिलेको अवस्था छ । यस्तो अवस्थामा विचलित नभई यसलाई थप संभावनाको रुपमा लिदै चलचित्र पत्रकारितालाई सही सूचना सहितको व्यवासायिक पत्रकारितामा जोड दिनुपर्ने अवस्था हामी सामु खडा भएको छ । संघको सैद्धान्तिक मूल्य मान्यतालाई आत्मसात गर्दै र डिजिटल प्रविधिको भरपुर प्रयोगमा अबको पत्रकारिता अघि बढ्नेछ भन्ने विश्वास पनि हामीले लिएका छौं ।

हामीलाई थाहा छ, वर्तमान अवस्थामा चलचित्र पत्रकारिताको धेरै संभावनाहरु देखिएको छ । तर, त्यतिकै रुपमा चूनौतीहरु पनि हाम्रो सामु खडा छ । चलचित्र पत्रकारितामा देखिएको आंशिक विकृती र विसंगतीलाई पराष्ट गर्दै पूर्ण रुपमा हामी संगठित र मर्यादित हुने बाटोमा अग्रसर भएका छौं । यसमा सहभागी हुन र दृद संकल्प गर्न सम्पूर्ण सदस्यज्यूहरुमा आर्दिक अनुरोध छ । कोरोना भाइरस जोखिमले समस्यामा रहेका सदस्यहका लागि लकडाउनको बीचमा पहिलो चरणको राहत प्याकेज वितरण गरिसकेको र दोश्रो चरणको राहत प्याकेज ल्याउने तयारीमा संघ रहेको छ । लकडाउनकै बीचमा सम्पूर्ण सदस्यको स्वास्थ्य बिमाको लागि प्रक्रिया अगाडी बढाइएको छ । हरेक बर्ष वितरण गर्दै आएको सम्मान तथा पुरस्कार वितरण समारोहलाई यस बर्षको अवस्थालाई मध्य नजर गर्दै स्थगीत गर्नुपरेको अवस्था छ । पुरस्कार राशिको वृद्धि गरि त्यसलाई उपयुक्त समयमा वितरण गर्नेगरि निरन्तरता दिने र मोफसलबाट पनि एक जनालाई मोफसल चलचित्र पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय संघले गरेको छ ।

चलचित्र पत्रकारिताको इतिहासमै पहिलो पटक यो प्रविधिको युगमा आज हामी डिजिटल प्लेटफर्मकै माध्यमबाट बार्षिक उत्सब मनाईरहेका छौं । यो हाम्रो लागि महत्वपूर्ण क्षण र उपलब्धी पनि हो भन्ने मलाई लाग्छ । कोरोना भाइरसले धरायशी बनेको फिल्म क्षेत्र र चलचित्र पत्रकारितालाई संभावनाका रुपमा अघि सार्दै उकास्नमा चलचित्र पत्रकारहरु अग्रसर भएर लाग्नेछौं भन्नेमा हामी विश्वस्त छौं । फेरि पनि चलचित्र पत्रकार संघ नेपाल २२ बर्षमा प्रवेश गरेको अवसरमा राष्ट्रिय चलचित्र पत्रकारिता दिवस तथा २१ औं बार्षिकोत्सबको उपलक्ष्यमा हादिक बधाई तथा शुभकामना व्यक्त गर्दछु ।

लकडाउनको पूर्ण पालना गरौं, सुरक्षित बनौं, आफु बचौं र अरुलाई बचाऔं । धन्यवाद । जय चलचित्र पत्रकारिता दिवस ।

दिनेश सिटौला
अध्यक्ष,
चलचित्र पत्रकार संघ नेपाल
केन्द्रिय कार्यालय
अनामनगर, काठमाण्डौ, नेपाल ।